Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रन्जित रेको पुस्तकले नेपालको सार्वभौमिकतामाथि प्रहार : पूर्वडीआईजी खरेल

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । 

 

मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले रेको पुस्तकमा पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण विरोध गर्नुपर्ने बताए । 

 

उनले काठमाडौं द्विविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे । उनले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाए । 

 

पूर्वडीआईजी खरेलले किताबमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गरे । 

 

पूर्वडीआईजी खरेलले भने, ‘काठमाडौं द्विविधामा छ भन्ने यो पुस्तकको शीर्षक हो, यसको सबै दोष हाम्रा राजनीतिक लिडरहरुलाई जान्छ, हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध विस्तार गर्न चाहन्छौँ तर हाम्रा शासकहरु द्विविधामा भए, लम्पसारवादमा विश्वास गरे, व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, किताबमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ, हाम्रो निकम्मापनका कारण हामी हेपिएका छौँ, नेपाल सरकार यो किताव सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ, हामीले शान्तिपूर्वक यसको बिरोध गर्नुपर्छ, पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधिको द्वेध चरित्र भने यथार्थ हो ।’

 

कार्यक्रममा नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताए । उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै नेपालीहरु अब वीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको जनाए । 

 

नेपाललाई भूटान बनाएर भारतको अधीनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै सरकारमा सहभागी र नेपालको मूलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किताबको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको उनको भनाइ थियो । 

 

‘नेपाललाई भूटान बनाउने कुरा लेखिएको छ, यो पुस्तक पठनयोग्य छैन, सबै नेपालीहरुले जलाउनुपर्छ, जसले भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्छ भने यो भन्दा ठूलो अपमान नेपालका लागि अरु केही हुँदैन, यो सम्भव छैन, नेपाललाई भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्नु भारतको दिवा सपना हो, प्रचण्डको अध्यक्षतामा यो किताव लञ्च गरेर ताली बजाउनेहरु धिक्कार छ,’ बस्नेतले भने ।

 

पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक एमसीसी पास हुन्छ भने पनि यो सर्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताए । उनले देशमा न्याय मर्न नदिन अब फेरि मन र मुटुमा वीर गोर्खाली बन्नुपर्ने बेला भएको धारणा राखे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै