
जनता समाजवादी पार्टी (जसपा) का ३४ जना कार्यकारिणी सदस्यले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपामा ५१ जना कार्यकारिणी सदस्य छन् ।
अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका हुन् । हाल कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीलाई पनि हस्ताक्षरका लागि निर्वाचन आयोगमै लगिने भएको छ ।
अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताए । सोमबार निर्वाचन आयोग पुगेका यादवले ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफूहरूले पार्टीबाट खेदेको नभएर आफैं छाडेर जान खोजेको आरोप लगाए ।
निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो ।
सोहीअनुरुप जसपाका कार्यकारिणी सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका हुन् । सनाखतपछि आयोगले आधिकारिकतासम्बन्धी सम्भवतः आजै निर्णय सुनाउनेछ ।
यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit