
पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा आज काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय वडा नं १३ कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । यो निःशुल्क चिकित्सा शिविरको १६ औं संस्करण थियो ।
निशुल्क चिकित्सा शिविरको उद्घाटन नेपालका उपप्रधानमन्त्री माननीय सीपी मैनाली, नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह, काठमाडौं महानगरपालिकाकी उपमेयर श्रीमती हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रुपमा गरेका थिए ।
नेपाली डाक्टर र प्यारा–मेडिकल स्टाफ (जसले पाकिस्तानको विभिन्न मेडिकल इन्ट्युशनबाट स्नातक गरेका थिए) निःशुल्क सेवाहरू प्रदान गरेका थिए ।
चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई निःशुल्क उपचार र तीन महिनाको औषधि वितरण गरिएको थियो । बिरामीहरूलाई कोभिड–१९ विरुद्धको रोकथामका उपायहरूबारे जानकारी गराइएको थियो ।
राजदूत शाहले जनप्रभात उच्च माध्यमिक विद्यालयका लागि उपमेयर खड्गीलाई फोटोकपी मेसिन उपहार पनि हस्तान्तरण गरे । उपमेयर खड्गीले काठमाडौं महानगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी विपन्न नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद ज्ञापन गरिन् ।
नेता मैनालीले नेपाल र पाकिस्तानबीचको गहिरो र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै निःशुल्क चिकित्सा शिविर आयोजना गरेकोमा पाकिस्तानी राजदूतावास र एनपीएफसीएलाई धन्यवाद दिँदै दुई देशबीच सहयोगको निरन्तरताको कामना व्यक्त गरे ।
राजदूत शाहले निःशुल्क चिकित्सा शिविर नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धको झल्को रहेको बताए । राजदूत शाहले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit