
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।
आज काठमाण्डौमा ‘उम्मेद्वार घोषणा कार्यक्रम’ को आयोजना गर्दै उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने तय भएको छ ।
‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नु अघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आउने १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ । र नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडी जानुपर्छ भन्ने आम हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको समेत भावनालाई स्वीकार गर्दै आफु उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु’ उनले भने ।
पार्टी अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै उनले राप्रपा खिइनु र दुब्लाउनु ३१ वर्षको इतिहासमा असफलताको इतिहास भएको बताएका छन् । पार्टी एकीकरण भएपनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडी बढ्न नसक्ने बताएका छन् । आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरिक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेद्वारी रहेको पनि बताएका छन् ।
पार्टी नेता तथा कार्यकर्ताहरुलाई यो नेता र त्यो नेताको मान्छे भन्ने दाग नलगाई राप्रपाको स्वाभिमानी कार्यकर्ता बनाउन चाहेको उनको भनाइ छ । राप्रपाले कांग्रेस र कम्युनिष्ट पार्टीले गर्न नसकेको काम गर्ने उनले दाबी पनि गरेका छन् ।
‘महाधिवेशन प्रतिनिधि साथीहरुलाई आव्हान गर्न चाहान्छु , राप्रपाका तमाम नेता, कार्यकर्ता साथीहरुका लागि अग्नि परिक्षा हो । हामी कुनै नेताको खल्तीको रुमाल हो की, हामी साच्चि नै राष्ट्रिय प्रजातन्त्र पार्टीको बाटोबाट राजसंस्था, हिन्दू राष्ट्रको पुर्नस्थापना चाहान्छौँ । यो हाम्रो अग्निपरिक्षा हो । हामी ३१ वर्षदेखि राप्रपामा रहेको गुटको अन्त्य गर्न चाहान्छौँ । आफ्नो शीर माथि, आफ्नो थाप्लो माथि यो पशुपति शमशेरको मान्छे, यो कमल थापाको मान्छे, यो डा. लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहान्छौँ की त्यही भारी बोकेर हिड्न चाहान्छौँ यो हाम्रो मौका हो । यो अग्निपरिक्षा हो’ उनले भने ।
‘हामी हाम्रो थाप्लोबाट त्यो दाग मेटाएर हामी राप्रपाको कार्यकर्ता बनाउन चाहान्छौँ भने, राप्रपाको स्वाभिमानी कार्यकर्ता मात्र बन्न चाहान्छौँ भने यो महत्वपूर्ण र सुवर्ण अवसर हो भन्नेकुरा म साथीहरुलाई निवेदन गर्न चाहान्छु । यो नेतृत्व परिवर्तनको मुद्दाले, हाम्रो विजयले नेतृत्व परिवर्तन मात्रै हुँदैन । पार्टीमा रहेको परम्परागत गुटको पनि अन्त्य हुन्छ । नेपालको राजनीतिमा राप्रपाले नयाँ सन्देश पनि दिन्छ, कांग्रेस कम्युनिष्टमा हुन नसकेको काम हुन्छ’ उनले भने ।
नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टी भित्र उठिरहेको भएपनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने उनले बताएका छन् । उनले नेतृत्व लिने मात्रै होइन नेतृत्व हस्तान्तरणपनि सजिलै गर्ने व्यवस्था अघि सारेको पनि उल्लेख गरेका छन् ।
‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा मात्रै नयाँ नेतृत्व स्थापना गर्ने कुरा गरिराखेका छैनौँ । नेपालको राजनीतिमा अब पुस्तान्तरणको, नेतृत्व हस्तान्तरणको अभियानको समेत राप्रपाले नेतृत्व गर्नेछ । राप्रपाले एउटा इतिहासको निर्माण गर्दैछ । हामीले अहिले नेतृत्व परिवर्तनको कुरा मात्रै होइन, आगामी दिनमा समेत नेतृत्व हस्तान्तरणको सहज व्यवस्थाका कुराहरु पनि अगाडी सारेका छौँ’ उनले भने ।
पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राप्रपाका नेता धवल शमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । राप्रपाको नेतृत्व परिवर्तन गरेमात्रै पार्टीको भविष्य हुने उनले बताएका छन् ।
‘हामी के निष्कर्षमा पुग्यौँ भने हामीले नयाँ चेहेरा दिनुपर्छ । नेतृत्व परिवर्तन गर्नुपर्छ । चाहेर नचाहेर नेपाली जनताले हाम्रा नेतृत्वलाई नपत्याउने भए, अब नेतृत्व परिवर्तन गरेर अगाडी हिम्मत गरेर अगाडी बढ्नुपर्छ । पार्टीको पनि राम्रो भविष्य छ, कार्यकर्ताको राम्रो भविष्य छ । र जनताको पनि राम्रो भविष्य यो पार्टीसित छ । हामीले नयाँ सुरुवात गर्ने प्रयास गरेका छौँ । पार्टीको लागि, कार्यकर्ताको लागि मात्र होइन, देशैको लागि नयाँ सुरुवातको थालनी भइरहेको छ’ उनले भने ।
उनले हजारौँको संख्यामा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिक रुपमै राजतन्त्र र हिन्दूराष्ट्रको मुल्यमान्यतालाई स्थापित गराउनुपर्ने बताउँदै पार्टी भित्र र बाहिर सबैले नेता लिङ्देनलाई मान्ने गरेकाले आफुहरुले अध्यक्ष पदका लागि अगाडी सारेको पनि जानकारी दिएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit