Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

माओवादीको निष्कर्षः गठबन्धन सफल 

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।

 

सोमवार पार्टीका नियमित पत्रकार भेटघाटमा बोल्दै महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् । 

 

गठबन्धन अझै अघि जानसक्ने महराको भनाइ छ । सोमबार बिहानसम्मको अवस्थामा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्ममा कुरा मिल्ने महराले बताए । उनले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जाने गरी सहमति हुने बताए । 

 


प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने स्पष्ट पारे । स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने महराको भनाइ छ ।  उनले भने, ‘हामीले स्थानीय निकायलाई अलि शक्तिशाली बनाउने भनेकै हो । त्यो प्रक्रिया सुरु भएकै छ । हामी सकेसम्म केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने त्यसकारण हामीले त्यो अधिकार तल दिन चाहन्छौँ ।’

 


महराले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए । गठबन्धनका दलहरुकाबीचमा सहमति नभएपनि गठबन्धनका दलले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने निर्णय अनुसार अघि बढ्ने महराको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै