Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहको यस्तो छ प्रतिबद्धता 

सोमबार काठमाडौं महानगरपालिकाको मेयरमा ५ दलीय सत्तारुढ गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छिन् । 

 

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएकी हुन् । 

 

उनले आफ्ना सबै योजना काठमाडौंलाई मध्यनजर गरेर काठमाडौंको उत्थानका लागि हुने बताइन् । उनले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने गरी आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

 

काठमाडौंमा पनि अझै महिलालाई सम्मान व्यवहार नभएको सिंहको भनाइ छ । त्यसैले महिलाको हकहितको काममा खटिने उनको प्रतिबद्धता छ । 

 

काठमाडौं महानगरभित्रका विपन्न, गरीब महिलालाई छानेर उनीहरुको आर्थिक सुधारमा जोड दिने पनि बताइन् । 

 

महानगरपालिकामा विभिन्न काम गरेर बस्ने एकल पुरुषहरुका लागि पनि भत्ता उपलब्ध गराउने वाचा गरेकी छिन् । 

 

हरेक वडामा वृद्धवृद्धाका लागि जेष्ठ नागरिक केन्द्र र स्वास्थ्य संस्था स्थापना गर्ने, सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने र त्यसमा काठमाडौंवासीलाई विशेष छुट दिनुका साथै विपन्नलाई निःशुल्क उपचार गर्ने वातावरण मिलाउने सिंहले बताइन् ।  

 

मेयरमा जितेको अवस्थामा बालकालिकाका लागि विभिन्न कार्यक्रम ल्याउने, युवाहरुलाई रोजगार दिने र योग्यताअनुसार उन्नतिको कदम चाल्ने बताइन् । 

 

काठमाडौं ऐतिहासिक शहर भएको भन्दै सिंहले आफूले जितेपछि विश्वमै उदाहरणीय महानगर बनाउने दाबी गरिन् ।  

 

गठबन्धनबाट महानगरको उपमेयरमा भने नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार दर्ता गराउने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै