Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण चलायमान भएको छ : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले वर्तमान परिवेशमा आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरुमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाले विशेष स्थान लिँदा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण चलायमान बन्न पुगेको बताएका छन्  । 

 

उनले सुरक्षाको दायरा फराकिलो हुँदै गएको अवस्थामा राष्ट्रिय सुरक्षामा परम्परागत सुरक्षा खतरा र अपरम्परागत चुनौतीहरु थपिँदै गएको बताए । 

 

‘यस्ता बहुआयामिक चुनौतीहरुको उचित व्यवस्थापनका लागि राजनीतिक, कूटनीतिक, रणनीतिक तथा शैक्षिक वृत्त लगायत आम नागरिकमा समेत सामरिक धारणा तथा सोचको वृद्धि भई समग्रमा सामरिक संस्कृतिको विकास हुनुपर्ने र यसलाई सैनिक चासोको विषय मात्र नभई सम्पूर्ण राष्ट्र दृष्टिकोणको रुपमा बुझ्न र अभ्यास गर्न जरुरी भएको तथ्यलाई जोड दिनुपर्छ,’ प्रधानसेनापति शर्माले भने । 

 

उनले आगामी वर्षको सयुक्त राष्ट्र संघ दिवसलाई थप बृहतीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान पुुर्याएका व्यक्तित्वहरुको समेत सहभागिता गराई अन्तर्राष्ट्रिय स्तरको सेमिनार सहितको विशेष कार्यक्रमको तयारी भइरहेको समेत जानकारी गराए । 

 

प्रधानसेनापति शर्माले रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २२ फागुुनदेखि सञ्चालित उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको शुक्रबार समापन समारोहमा यी विषय बताएका हुन् । 

 

कार्यक्रम प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा समापन भएको हो ।

 

 

समारोहमा समापन मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले  देशको संवेदनशील भू–राजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुँदा देशको हित र स्वार्थमा कुनै पनि किसिमको आँच आउन नदिन सबैजना सजग र प्रतिबद्ध हुन आवश्यक रहेको बताए । 

 

उनले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने सन्दर्भमा विभिन्न निकायहरुबीच, अन्तर–निकाय समन्वय र सहकार्य बलियो बनाउन आवश्यक रहेको समेत उनले जानकारी गराए । 

 

२०७२ सालबाट सरु गरिएको स्तरीय राष्ट्रिय सुरक्षा तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवं नेपाल रेडक्रसका वरिष्ठ अधिकारीहरु र संचारकर्मीहरु गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो ।  हालसम्म १४३ जनाले यस तालिममा सहभागिता जनाइसकेका छन् ।

 

समापन समारोहमा विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, पूर्व शिक्षाध्यक्षहरु, अतिथि वक्ताहरु एवं नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै