
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् ।
महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥याएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुग्नु भएका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिने क्रममा सत्तारुढ गठबन्धनले आफ्नो पार्टीको माग सम्बोधन गर्ने वित्तिकै संसद सुचारु हुने र एमसीसीका विषयमा पनि पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।
उनले गैरकानुनी ढंगले पदीय दूरुपयोग गरेर आफ्नो पार्टी विभाजन गराउने काममा सामेल हुने सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पार्टीको माग रहेको स्मरण गराएका छन् ।
‘हाम्रा लागि सत्ताको प्रश्न प्रधान प्रश्न होइन । हामी कुनै सरकारलाई परिवर्तन गरेर अर्को सरकार बनाउने मान्यताको पक्षमा पनि छैनौं । मुख्य कुरा लोकतन्त्र डिरेल भएको छ । लोकतन्त्रलाई सही बाटोमा हिँडाउने कुरा महत्वपूर्ण छ । नेपालका प्रमुख राजनीतिक पार्टीहरु नेकपा एमाले र नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा आधारभूत रुपमा सहमत हुनुपर्छ । खासगरी विकासको प्रश्नमा, समृद्धिको प्रश्नमा, स्वाधीनताको प्रश्नमा, परराष्ट्र नीतिको प्रश्नमा, परराष्ट्र नीतिको प्रश्न र लोकतन्त्रको आधारभूत मूल्यमान्यताको पक्षमा आधारभूत समझदारीका साथ अगाडि बढनुपर्छ भन्ने हाम्रो प्रस्ताव पनि छ’ उनले भने ।
‘त्यसमा नेपाली काँग्रेसले सकारात्मक हिसावले छलफल गर्छौ भनेको छ । त्यो अर्थमा हामी सरकारको प्रश्नभन्दा बाहिर गएर लोकतन्त्रको आधारभूत मूल्यहरुमा आधारित रहेर डिरेल बन्दै गएको लोकतान्त्रिक प्रणालीलाई लिकमा ल्याउने मान्यताको पक्षमा छौं । र, त्यसका लागि पहल गर्छौं । अनुचित ढंगले गैरकानुनी तरिकाबाट दल विभाजन गर्ने जुन प्रयास भयो । त्यो प्रयासमा केही निकायहरु दूरुपयोग भए । खासगरी सभामुखले आफ्नो पदीय मर्यादा पालना गर्न सक्नु भएन । दोहोरो मापदण्डको प्रयोग गर्नु भयो । त्यसअर्थमा सभामुखले आफ्नो भूमिका निर्वाह गर्ने कुरामा पदीय आचरण पूरा गर्न सक्नु भएन भन्ने अर्थमा उहाँलाई हामीले आफ्ना गल्तीहरु सच्याउन वा मार्ग प्रशस्त गर्नका लागि बारम्बार भन्दै आएका छौं । यस अर्थमा तपाईहरुका बीचमा म के भन्न चाहन्छु भने सत्ता गठबन्धनले हाम्रो मागलाई सम्बोधन गर्ने वित्तिकै स्वभाविक रुपमा संसदको प्रक्रिया सुुचारु हुन्छ । र, हामी संसदभित्र प्रवेश गर्ने हरेक विजनेशहरुमा छलफल गरेर निर्णय प्रस्तुत गर्नका लागि तयार नै छौं’ उनले भने ।
महासचिव पोखरेलले लोकतन्त्रलाई सही बाटोमा अघि बढाउन पनि सभामुख सापकोटाले आफ्नो दल विभाजनका बेला गरेको गल्ती सच्याउन वा पदबाट राजीनामा गराउने काममा नेपाली कांग्रेस सहमत हुनुपर्ने तर्क समेत गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit