Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

पोखराको मेयरमा गठबन्धनका आचार्यको जित सुनिश्चित, भने– पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग प्रस्ताव गर्छु

कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् । 

 

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बनेका हुन् । यद्यपि, पूर्ण मत गणना नभइसकेकोले घोषणा हुन भने बाँकी छ । 

 

मेयरमा उनको प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ५ हजार २८६ मतान्तरले पछि छन् । अब ५ हजार १५ मत गणना बाँकी छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो भने मंगलवार बिहान ८ बजेसम्म १ लाख ३८ हजार २११ मत गणना भइसकेको छ । 

 

आचार्यले शपथग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेशन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गरे । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए । 

 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । उनले चुनावी प्रतिस्पर्धामा विभिन्न पार्टीबाट आए पनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अविभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पारे । 

 

आचार्यले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे । उनले ५ वर्षे कार्यकालमा पोखरालाई सिस्टमबाट चल्ने, सफा र आधुनिक शहर बनाउने बताए । पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाउने, जसमा छुट्टै अटो पार्क बनाउने योजना रहेको बताउनु भयो । उहाँले अहिले पृथ्वी चोकमा रहेको बसपार्कलाई पोखराको सिटी बसपार्कका रुपमा परिणत गर्ने पनि जानकारी दिए । 

 

उनले पोखरा महानगरभित्रका सबै वडामा साँझ ६ बजेसम्म गाडी चल्ने, आयात प्रतिस्थापन गर्ने उपाय अपनाउने, पोखरेली हरुको जीवनस्तरलाई योजना अघि सार्ने, भान्सालाई सस्तो, सुलव, सफा र हाइजेनिक बनाउने काम आगामी ६ महिनामा नतिजा निस्किने कार्ययोजना अघि बढाउने बताए । उनले बाच्नका लागि चाहिने खर्चलाइ बिस्तारै कम गर्दै जाने योजना रहेको पनि बताए । 

 

आचार्यले सपथपछिको पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्थापन गर्ने बताए । उनले पोखरामा फोहोर व्यवस्थापन गर्न नसके अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसक्ने स्थितिमा रहेको भन्दै अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्ने दाबी गरे । 

 

पोखरोको उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले हालसम्म ५८ हजार ५८१ मत प्राप्त गरेकी छन् । उपमेयरमा गठबनधबाट नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५४७ मत पाएकी छन् । पोखरा महानगरपालिकामा अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै