
नक्कली लालपूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख ठगी गरेका छन् ।
ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।
प्रहरीका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना ३५ लाखमा दिने भनी प्रलोभनमा पारी ठगी गरेको थिए । पीडितलाई जग्गाको लालपूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास दिने भन्दै आश्वासन दिएर ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए । पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो । उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ ।
बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit