Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

प्रधानन्यायाधीशको राजीनामाबारे छलफल भएको छैन : नेपाल बार एसोसिएसन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । 

 

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् । 

 

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधिश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैले सोच्नुपर्ने प्रतिक्रिया समेत दिए ।

 

‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनु भएको छ । त्यो विचार अनुसार त्यसको अवलम्वन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ । उहाँले सोच्नुपर्ने हो । हामीले त्यो फोरमको, पूर्व न्यायाधिशहरुको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आईसकेको छैन । हामी फरमल्ली त्यो अध्ययन गर्छौं । र त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन । राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं,’ उलने भने ।

 

अध्यक्ष श्रेष्ठले भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैले भोग्नुपर्ने अवस्था आएको तर्क गरे । उनले न्यायालयको शुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ हुन नसकेको गुनासो गरे । 
अध्यक्ष श्रेष्ठले न्यायालयमा बिचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि स्मरण गराए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै