Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अमेरिकाले थाल्यो अफगानिस्तानबाट उद्धार अभियान

तस्बीर सौजन्यः अमेरिकी रक्षा मन्त्रालयको ट्वीटर

अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् । 

 

उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन् ।

 

उनीहरुका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्न लागेको छ ।

 

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौँ मानिसहरु अफगानिस्तानबाट भाग्न खोजिरहेका छन् । अफगानिस्तानबाट बाहिरिनका लागि हजारौँ मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरुलाई तत्काल उद्धार गर्नुपर्ने खाँचो देखिएको छ ।


 
अफगानिस्तान छोड्न काबुल विमानस्थलमा भएको भागदौडका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ । सुरुका केही दिन तनावपूर्ण र कारुणिक भए पनि अहिले भने सामान्य बन्दै गएको अधिकारीहरुले जनाएका छन् । 

 

 

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमै बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ । 

 

उद्धार गरी जर्मनीतर्फ गइरहेको विमानमा एक महिलाले गत शनिबार छोरी जन्माएको जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आमा र शिशुको तस्वीर समेत सार्वजनिक गर्दै उद्धारकै क्रममा महिलाले बच्चा जन्माउँदा खुसी लागेको उल्लेख गरेको छ ।  

 

युएस एयर फोर्स सी–१७ विमानमा बच्चा जन्मेको र आमा र शिशु दुवै जनालाई विमानमै स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको रक्षा मन्त्रालयले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै