
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र गठबन्धनमा रहेका दलका लागि निर्वाचन सन्तोषजनक रहेको बताएका हुन् ।
उनले तालमेल गरेर प्रतिस्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरुले ठूलो सफलता हात पारेको दाबी गरे । उनले स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको पनि बताए ।
नेकपा एमालेले निर्वाचनमा धाँधली भयो भन्ने कुरामा कुनै सत्यता नरहेको समेत उनको जिकिर छ ।
महतले नेकपा एमालेकै केन्द्रीय नेताको नेतृत्वमा बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भएको दाबी गरे ।
उनले धाँधली भएका २,३,५ र ९ वडामा एमालेले पूरै बुथ कब्जा गरेकोेले उक्त वडामा पुनः मतदान गर्न निर्वाचन आयोगसँग आग्रह गरे । उनले उदयपुरको त्रियुगा नगरपालिकाको एउटा वडामा पनि धाँधली भएकोले तत्काल पुनः मतदानको व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरे ।
प्रवक्ता महतले स्थानीय तह सदस्य निर्वाचनमा समग्रमा गठबन्धन दलसहितको निकै ठूलो अग्रता कायम गर्न सफल भएको स्पष्ट पारे ।
प्रवक्ता महतले काठमाडौंमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेको ५ वर्षमा गरेको कामहरुको कर्तुत भएको जिकिर गरे ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली काँग्रेससमेत परेको बताए । केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली कांग्रेस र राजनीतिक दलहरु नै सकिएको भन्ने मूल्यांकन गर्न नमिल्ने बताए ।
प्रवक्ता महतले अन्तर्राष्ट्रिय स्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वभाविक रुपमा मूल्यवृद्धि भएको बताए । उनले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको पूर्ण रुपमा नेपालमा मूल्य नबढाएको दाबी गरे ।
उनले जनता मारमा परिरहेकोले सरकार यसमा गम्भीर बन्न र उपभोक्ताको आवश्यकीय सामग्रीको मूल्यवृद्धिमा सरकार गम्भीर र चनाखो बन्नुपर्ने बताए ।
प्रवक्ता महतले नेकपा एमालेले ९÷१० वटा दलसँग गठबन्धन गरेर निर्वाचनमा एक्लै लड्यौँ भनेर जनतामा भ्रम छरेको आरोप लगाए । उनले नेपाली कांग्रेसले स्थानीय तहमा आएको मत परिणामलाई मजबुत बनाएर आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने पनि बताए । उनले गठबन्धनलाई संघीय निर्वाचनसम्म पनि सँगै लैजाने रणनीतिअनुसार नेपाली कांग्रेस अघि बढ्ने बताए ।
प्रवक्ता महतले अपवाद बाहेकका स्थानमा गठबन्धनमा रहेका दलले एक अर्कालाई सहयोग गरेको भन्दै छोटो समयमै देशले लय समातेको दाबी गरे ।
उनले नेपाली कांग्रेस एक्लैले बहुमत ल्याउन अझै केही समय पर्खनुपर्ने बताए । स्थानीय तहको निर्वाचनका कारण प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जाने आधार तयार पारेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit