Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको आग्रह 

निर्वाचन आयोगले आइतबार र सोमबार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ । 

 

निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार र सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न आह्वान गरेका हुन् ।  

 

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताले रुचाएको पदमा उम्मेदवारी दिन सक्ने बताएको छ। उम्मेदवारी मनोनयनमा चाप पर्न नदिन मनोनयनका लागि दुई दिनको समय छुट्याइएको आयोगले बताएको छ । 

 

प्रवक्ता पौडेलले अघिल्लो निर्वाचनमा मनोनयनमा देखिएको चापलाई मध्यनजर गर्दै यसपटक मनोनय दिने समय २ दिन राखिएको बताए । 

 

निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा बैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र १७ गते भोलिपल्ट उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिकाबारे पनि स्मरण गराएको छ ।

 

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने विशेष जिम्मेवारी राजनीतिक दल र तिनका उम्मेदवारहरुको रहेको उल्लेख गर्दै आयोगका प्रवक्ता पौडेलले सोही जिम्मेवारी पूरा गर्न उनीहरु समक्ष हुने विश्वास समेत व्यक्त गरे ।

 

निर्वाचन आयोगले उम्मेदवारी दिँदा महिलाहरुसहितको समावेशी समानुपातिक प्रतिनिधित्व हुने निश्चित गरी उम्मेदवारी दिन पनि आग्रह गरेको छ ।

 

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि राजनीतिक दलहरु र तिनका उम्मेदवारहरुको गम्भिर ध्यानाकर्षण गराएको छ । अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै