
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनले भ्रमणको क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् ।
राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै आगामी साता गुटेरेसले युक्रेनको भ्रमण गर्ने जानकारी दिएको हो ।
‘उनले युक्रेनका जनतालाई मानवीय सहायताको मात्रा बढाउने विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय निकायका कर्मचारीसँग पनि भेट गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ । महासचिव गुटेरेस रुसी राष्ट्रपति भ्लादिमिर पुटिन
र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट्न मस्को जाने घोषणा भएको केही घण्टापछि यो घोषणा गरिएको हो ।
महासचिवका सहायक प्रवक्ता एरी कानेकोले शुक्रबार उक्त भ्रमणको घोषणा गरेका हुन् । रुसले पनि पुटिन र लाभरोभले गुटेरेसलाई भेट्ने बताएको छ ।
मङ्गलबार गुटेरेसले युक्रेनमा चार दिनको मानवीय कार्यको लागि युद्ध विराम गर्न द्वन्द्वका सबै पक्षहरूलाई आह्वान गर्दै वार्ता र शान्तिको लागि समेत आग्रह गरेका छन् ।
रुसले गत फेब्रुअरीयता निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ । पछिल्लो केही समययता राष्ट्रसंघका महासचिव गुटेरेसले यो युद्ध रोक्नको लागि सक्रियता बढाएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit