
वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासको आयोजनामा विहार र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवद्र्धनबारे छलफल भएको छ । दूतावासले मंगलबार भारतको आजादीका अमृत महोत्सवअन्तर्गत वीरगन्जमा उक्त छलफल आयोजना गरिएको हो ।
द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो रहेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए ।
छलफलमा भारत र नेपालका तर्फबाट प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धमा वक्ताहरूले धारणा राखेका थिए । भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो ।
मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो । सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा प्रदेशमन्त्रीले सहमति जनाएका थिए ।
उनले उठाइएका विषयहरूलाई उचित रूपमा लिइएको र समस्याहरू समाधान गर्न उपयुक्त कदम चालिने पनि सहभागीहरूलाई आश्वासन दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit