Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको छ : बाबुराम भट्टराई

फाइल तस्बिर

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरेका छन् ।

 

 

बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको बताएका हुन् । उनले एमालेले अब पनि संसद बैठक सुचारु नगरे जनता आफँैले दण्डित गर्ने दाबी समेत गरेका छन् । उनले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरेका छन् । गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाणनै संसद अवरुद्ध गरिरहनु रहेको उनकोे भनाइ रहेको छ । उनले संसदमा असहमती राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यही भित्र तर्क वितर्क गर्ने रहेको बताएका छन् । 

 

 

‘लोकतन्त्रको मर्म विपरित, संविधानको विपरित त हुँदै हो । उहाँहरुले स्विकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । यसैलाई त उहाँहरुले जनताको बहुदलीय जनवाद भनेर स्विकार गर्नु भएको छ । त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो । बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो । संविधानलाई असफल पार्ने कुरा हो । यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो । उहाँहरु अहिले पनि त्यसैमा हुनुहुन्छ । सरकारले अग्रसरता लिने भनेको त उहाँहरुलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ । त्यसलाई दण्डित गर्न मात्रै बाँकि छ । जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाइ थियो’ उनले भने ।

 

 

उनले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै