
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको सुरुवातदेखि सेयर बजारमा निकै ठूलो उतारचढाव आइरहेको छ । धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण खस्किएको थियो । उक्त काण्डबाट सेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले सेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुँदै आएको छ ।
तर, विविध कारणले बजार प्रभावित भएता पनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । पछिल्लो एक वर्षदेखि नेपाली सेयर बजारमा लगानी कर्ताको आकर्षण बढ्दै गएको छ ।
लगानीकर्ता बढ्दै जाँदा सेयर बजारले नयाँ रेकर्ड समेत राख्न सफल भएको छ । तर, चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४ करोड देखि १२ करोड सीमा तोकेसँगै सेयर बजार ओरालो लागिरहेको छ ।
चार महिनादेखि सेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक देखिनु पुँजीबजारको लागि राम्रो पक्ष हो । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितोकर्जामा लगाएको सीमामा लचकता अपनाएमा पुनः सेयर बजार गति लिने अपेक्षा रहेको छ । त्यस्तै, पछिल्लो एक साताको सेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पतीमा समेत बृद्धि भएको छ । सेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पति १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।
आइतबार देखि बिहिबार (कार्तिक २८ देखि मंसीर २ सम्म)सम्म भएको सेयर कारोबारमा आइतबार २ हजार ६८८.९२ अंक रहेकामा सातको अन्तिम कारोबार दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो । सातामा ५ दिनको सेयर कारोबारमा ३ दिन नेप्से बढ्दा बिहिबार भने ३२.३९ अंकले गिरावट आएको थियो ।
आइतबारको तुलनामा बिहीबारसम्म आईपुग्दा लगानीकर्ताको सम्पती १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ । आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको नेप्से बजारपुँजीकरण बिहीबारसम्ममा ३८ अर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । तर, बिहिबार बजार दोहोरो अंकले गिरावट हुदाँ बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजारपुँजीकरण घटेको थियो ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा ३ अर्ब ५६ करोड बराबरको सर्वसाधारणका लागि जारी गरीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचिकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ सेयर (डिबेन्चर) थपिएको छ ।
उक्त प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस सेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, ३३ अर्ब तीन करोड बराबरको डिबेन्चर र २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्डसमेत सूचीकृत भएको छ । असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन् । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत् कम्पनी ४१, ४ व्यापारिक संस्था , पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूहका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा दुई सय ९ वटा मात्रै कम्पनीहरू सूचीकृत थिए । सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरणको बजार हिस्सा ७०.७ प्रतिशत रहेको छ । त्यस्तै,जलविद्युतको ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ७.६ प्रतिशत रहेको पुगेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit