
नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
मंगलबार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई घुस खाएर धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको संवाद सार्वजनिक भएको थियो ।
सोही संवादलाई लिएर बारले सो प्रकरणको आधिकारिकता र सत्यतथ्य अनुसन्धान
गरी कसैको संलग्नता पुष्टि भएमा कसुरदारलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।
बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले सो अडियो प्रकरणमा एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले छनबिनबाट कसुरदार ठहरिनेलाई कारबाही गर्न बारले माग गरेको बताइन् ।
उनले व्यक्तिको नियतमाथिको प्रश्नसँग संस्था नजोडिने भन्दै नेपाल बार एशोसिएशन न्यायालयको शुद्धीकरणमा लागिरहेको बताइन् । उनले एशोसिएशनमा आवद्ध व्यक्तिहरुमा रहेको त्यसप्रकारको प्रवृत्तिलाई निस्तेज गर्ने पनि बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit