
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् ।
शुक्रवार महानिर्देशक गेहब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन। खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ ।
गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयमा खोपकेन्द्र स्थापना गरेर टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडबिरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ ।
खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेहब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेहब्रेयससले नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको बताएको जानकारी दिए ।
उनले डब्ल्यूएचओका महानिर्देशकबाट ललितपुर महानगर क्षेत्रमा रहेका खोपकेन्द्रको अवलोकन गर्नुले आगामी दिनमा नेपाल र ललितपुर महानगरपालिकालाई जनस्वास्थ्यको क्षेत्रमा सहयोग पुग्ने बताए ।
मेयर महर्जनले भने, ‘कोभिड १९ पछि हामीले गरेका राम्रा कामको अवलोकन भ्रमण हो यो । यो हाम्रो निमित्त धेरै महत्वपूर्ण छ । उहाँको भ्रमणले पक्कैपनि स्वास्थ्य क्षेत्रमा भविष्यमा छलाङ मार्नेछ । आजको भ्रमणले ललितपुर महानगरपालिका र डब्ल्यूएचओमार्फत नेपाल सरकारले भविष्यमा यस्तो किसिमको कार्यक्रममा थप सहयोग प्राप्त हुनेछ भन्ने मेरो भनाइ रह्यो ।’
मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेहब्रेयससले आगामी दिनमा नेपालको जनस्वास्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
खोप अभियानमा लगभग ७५ लाख बालबालिकाले लाभ लिने सरकारको अनुमान छ । नेपाल भ्रमणमा रहेका महानिर्देशक गेहब्रेयससले बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेका थिए । उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit