Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आखिर यसरी मिल्यो एनआरएनएको झगडा !

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाडौंमा हुने भएको छ । 

 

मंगलवार गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैर आवासीय एक र एकतावद्ध रहने दाबी गरे । 

 

उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिए ।

 

‘गैर आवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ । अब गैर आवासीय नेपाली संघ एकतावद्ध रहन्छ म दावाका साथ भन्न सक्छु । यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जानेछ । मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनेको थियौँ, त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

 

त्यस्तै, अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा बृहत् आम सहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए ।

 

‘अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै पनि उपाय छैन । हरेक व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि जानुपर्छ भन्नेमा हामी सहमत छौँ । यो डेढ वर्षको समय हामी सबैले एकैसाथ सामुहिक नेतृत्व गर्ने गरेर अघि बढ्ने निर्णय गरेका छौँ ,’ केसीले भने ।

 

त्यस्तै अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैर आवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि जानकारी दिए ।

 

‘हामी सबै पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ । हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ । हामी पहिला भएका कमी कमजोरीहरुलाई नियालेर सबैलाई समेट्दै अघि बढ्न चाहन्छौँ,’ आचार्यले जानकारी दिए । 

 

त्यस्तै अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन् । उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो भएको पनि जनाइन् ।

 

‘यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरु थिए । यी विवादलाई अन्त्य गर्नको लागि र संस्थालाई बलियो बनाउनको लागि इमान्दारितापूर्वक काम गरिरहेका छौँ । अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ,’ थापाले भनिन् ।

 

एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ । यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताइन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै