Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

केपी ओलीले हामीलाई छुवाछुतको व्यवहार गरेका छन् : माधव नेपाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् ।

 

 

मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दाबी गरेका छन् । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष उनको आरोप थियो । उनले एमालेले संसदबाट आफूहरुलाई हटाउन दवाव दिएपनि त्यो अधिकार कसैलाई नरहेको बताएका छन् । 

 

 

‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गईरहेको छ नि । सातो जाओस् । केही मतलव छैन । नेपाली जनताको सातो कायम रहनुपर्छ । नेपाल राष्ट्रको गरिमा माथि उठनुपर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनु पर्छ । हाम्रो ध्येय यही नै हो । केपी ओलीको कब्जामा रहेको, उनको प्राईभेट कम्पनीमा रुपान्तरण भएको कथित नेकपा (एमाले) त्यो हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ । उसले हामीलाई शत्रु घोषणा गरेको छ’ उनले भने । 

 

 

‘हाम्रो अनुहार पनि हेर्दिन भनेको छ । तर कस्तो संयोग, नेपाली काँग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानु परेको छ । रमाइलो भाछ । भनेपछि नेपाली काँग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने । अहिले आइरहेका छैनन् संसद बैठकहरुमा । आउँछन्, नारा लगाउन सुरु गर्छन । नारा लगाउन सिकाएको हो कि क्या हो ? नारा लगाईरहेका विषयहरु के–के छन् ? नारामा भनिएका कुरा सुन्नुस्त । नम्बर एक–संसदीय मर्यादा पालना गर । ओली गुटले मर्यादा पालना गरेको छ ? संविधानको सम्मान गर । तर गरेका छन् त ? अनि नारा के लगाएको हुन्छ त भन्दाखेरी हामीले कारवाही गरेका व्यक्तिलाई यहाँबाट हटा । के कारबाही गर्न अधिकार पाएको छ, दिइएको छ ? त्यो अधिकार प्राप्त छ ? हामी भन्छौं–छैन’ उनले भने ।

 

 

उनले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताएका छन् । उनले एमाले ओलीको प्राईभेट कम्पनीमा रुपान्तरण भइसकेको दोहो-याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै