
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्ने बताएका छन् ।
पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना भए पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजना बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने बताए ।
पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपालका
लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताए ।
उनले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढी ध्यान दिने विश्वास व्यक्त गरे ।
राजदुत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवर्द्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यामबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पारे ।
राजदूत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वास समेत व्यक्त गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit