
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आइपुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणमा नेपाल आएका हुन् । उनले नेपाल आएसँगै स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न गेब्रेयससलाई आग्रह गरिएको र उनले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री खतिवडाले बताए ।
मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको खतिवडाले बताए ।
भेटवार्ताको क्रममा टेड्रोसले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गरेको मन्त्री खतिवडाको भनाइ छ ।
महानिर्देशक टेड्रोसले शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम छ । त्यस्तै उनले टेकु अस्पतालमा रहेको ल्याब निरीक्षण गर्ने, पाटन स्कुलको निरीक्षण गर्ने लगायतको कार्यक्रम छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit