Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रहरीद्वारा तल्कालै नक्कली लाइसेन्स चेकजाँच प्रणालीको सञ्चालन

ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै नक्कली लाइसेन्स चेकजाँच गर्ने प्रणालीको सञ्चालन गरेको छ ।

 

 

आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । 

 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका छन् ।

 

कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परीक्षणकालिन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरि सजिलै नक्कली र सक्कली छुट्याउन सक्ने बताएका छन् । उनले एक बर्षे परिक्षणकालको अबधिमा पाँच पटक भन्दा बढि ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्रावधान रहेको समेत जानकारी दिएका छन् ।

 

 

महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाइसेन्स प्रमाणीकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबदेखि आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल मोबाइल एप्स मार्फत लाईसेन्स प्रमाणीकरण गर्न सक्ने बताएका छन् ।

 

 

उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी लाइसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिएका छन् ।

 

 

कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन् ।

 

 

विशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाईसेन्स भेरिफाई गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरी चेकजाँचको क्रममा तल्कालै लाइसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै