Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

माओवादी केन्द्रीय समिति बैठक स्थगित, पदाधिकारी चयन अनिश्चित

कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।

 

मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ ।

 

यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत पुस २५ गतेका लागि बोलाइएको थियो । केन्द्रीय कार्यालयका कर्मचारीलगायत नेतामा कोरोना संक्रमण पुष्टि भएपछि बैठक भोलिसम्मका लागि स्थगन गरिएको थियो । 

 

पुस अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेतलगायत एक दर्जनबढी नेतामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । 

 

महाधिवेशन सम्पन्न भएलगत्तै गत पुस १८ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताइए पनि कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण बैठक स्थगन भएसँगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै