Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सिंहदरबारमा ओली र नेपाल पक्षले गरेको यस्तो छ सहमति

नेकपा एमालेका युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो ।     

 

संसदीय दलका उपनेता सुवास नेम्बाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको जानकारी दिए ।     

 

कार्यदलले सहमति पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।     

 

पार्टी सचिव गोकर्णराज विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउनका लागि छलफल गरिएको बताए । ‘एमालेलाई एकताबद्ध गर्न आमपार्टीपक्ति चिन्तित छ,’ उनले भन्नुभयो, ‘पार्टीप्रति कार्यकर्तामा देखा परेको अन्योल र चिन्ता दूर गर्नका लागि पार्टीलाई फेरि पनि एकताबद्ध बनाउन सन्देशका लागि भेटघाट गरेको हौँ ।’

 

छलफलमा पार्टी उपाध्यक्ष डा भीमबहादुर रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिव प्रदीपकुमार ज्ञवाली, भीमप्रसाद आचार्य र पृथ्वीसुब्बा गुरुङलगायत सहभागी थिए ।

 

यस्तै, एमालेको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।     

 

उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए । यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ । उनका पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ ।     

 

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो ।     
 

प्रतिक्रिया

110
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै