Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

स्वास्थ्यकर्मीमा कोभिड संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको यस्तो छ भनाइ  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी

सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ । 

 

 

स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताएका छन् । 

 

 

उनले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताएका छन् । सह प्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिन अघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गरेका छन् । 

 

 

उनले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाएपनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताएका छन् । उनले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताएका छन् ।

 

 

‘पछिल्लो ओमिक्रोनको संक्रमणलाई हेर्दा यो धेरै संक्रामक रहेको छ । यसले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन । सबै वर्गहरु संक्रमित भइरहेको देखिन्छ । तीव्र संक्रामक भएको हुनाले एकजनामा संक्रमण पुष्टि भयो भने हामी बसेको ठाउँ परिवारमा अरु व्यक्तिहरु पनि संक्रमित भएको देखिरहेका छाँै । एक ठाउँमा संक्रमण हुँदा त्यहाँ वरिपरि रहेकाहरुमा संक्रमण फैलिरहेको छ । तर जोखिमको हिसावले पहिलेको भेरियन्टहरु भन्दा कम जोखिमपूर्ण छ । स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण छ’ उनले भने ।

 

 

‘यो हुनुको पछि कोभिड खोप लगाउनेको संख्या बढेको कारण र अर्को बढी प्रभाव पार्ने अंग अरु भेरियन्टले फोक्सोको तलको भागमा बढी प्रभाव पार्दथ्यो भने यसले घाँटीसम्म गएर प्रभाव पार्छ । त्यसैले जोखिमका हिसावले तुलनात्मक रुपमा कम हो । तर भ्याक्सिन नलगाएको मानिसहरुमा बढी जोखिम भइरहेको अस्पतालमा भर्ना दरहरु हेर्दा तलैसम्म जोखिम पु¥याएको हामीले देखेका छौँ । संक्रमणको गति तीव्र छ । हामीले लिने सामान्य सावधानीहरुले त्यसलाई कम गर्न सकिन्छ । कोभिड १९ बिरुद्धको खोप लगाउन सकेको आधारमा जोखिम कम हुन्छ । अहिले हामी संक्रमणको उच्च अवस्थाबाट गइरहेका छौँ । यो केही समय रहन्छ र बिस्तारै कम हुँदै जान्छ । हामी बच्न र अरुलाई बचाउन उपलब्ध भएको कुराहरु जनस्वास्थ्यका मापदण्ड, कोभिड १९ बिरुद्धको खोप नै हो’ उनले भने । 

 

 

‘समग्र स्वास्थ्य सेवाहरुमा धेरै व्यक्तिहरु संक्रमित हुँदै जाँदा यसले धेरै चुनौति थप्छ । समुदायमा धेरै व्यक्तिहरु संक्रमित हुँदा त्यही समुदायमा, परिवारमा बस्ने नर्स, डाक्टर उहाँहरु घरपरिवारबाट पनि संक्रमित हुन सक्नुहुन्छ । अर्को अस्पतालमा संक्रमितको संख्या धेरै बढ्दै जाँदा, कोरोनाको उपचार र अरु सेवा लिनका लागि आउनेहरुको संख्या बढी भएपछि स्वास्थ्यकर्मी संक्रमितबाट आफू संक्रमित हुने, नभएको व्यक्तिलाई संक्रमण सार्नसक्ने अवस्था सिर्जना हुने, भएपछि ती स्वास्थ्यकर्मीलाई हामीले अलग्गै आइसोलेशनमा बस्ने व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसो गर्दा उहाँहरुको ठाउँमा काम गर्ने अर्को मानिस चाहियो’ उनले भने ।

 

 

‘थप स्वास्थ्यकर्मीहरु व्यवस्थापन गर्ने चुनौति छ । स्वास्थ्यमा पूर्वाधारहरु धेरै थपिएको छ । तर सवास्थ्यकर्मीहरु गुणात्मक रुपमा थप्न सकिरहेका छैनौँ । भएका स्वास्थ्यकर्मीलाई तालिम दिने र केही स्वास्थ्यकर्मीहरुलाई करारमा लिने काम गरेका छौँ । संक्रमण थपिँदै जाँदा काम गर्ने स्वास्थ्यकर्मीहरु आफ्नो ठाउँमा रहेपनि स्वास्थ्य सेवा प्रवाहमा चुनौति आउँछ । अर्को अरु सवा लिन आउने व्यक्तिहरुलाई त्यो चक्रबाट संक्रमण सर्दै जाँदा उहाँहरुमा हुने स्वास्थ्य जटिलता तुलनात्मक रुपमा बढी हुन्छ । जसले गर्दा जनधनको क्षति बढी हुने सम्भावना छ । संक्रमण रोक्नका लागि समुदायमा गर्ने प्रयासहरु धेरै गर्नुपर्ने हुन्छ’ उनले भने ।

 

 

उनले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेशनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेशनमा बस्न सुझाव दिएका छन् । उनले कोरोना भएको ७ दिनसम्म आइसोलेशनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारेका छन् । सह प्रवक्ता अधिकारीका अनुसार ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेशनमा बस्नुपर्ने बताएका छन् ।

 

 

उनले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिएका छन् । उनले कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताएका छन् ।

 

 

‘हामीले नेपालमा कोभिड १९ बिरुद्धको जुन भयक्सिन लगाएका छौँ । भेरोसेल, कोभिशील्ड र अस्ट्राजेनिका लगाएको अलि लामो समय भएको छ । ६ महिना भन्दा बढी भएको ६ महिना भन्दा बढी भएको छ । यस्तोमा हामीले जुन खोप लगाएका छौँ त्यही खोप लगाउने नै हाम्रो अध्ययनहरुको सिफारिस छ । विश्व स्वास्थ्य संगठनबाट पनि आएको छ । हामीले एउटा खोप लगाएकोमा अर्को खोप मिसाउने सिफारिस गरेका छैनौँ । सरकारको नीति त्यस्तो छैन । हामीले अध्ययन, अनुसन्धान हेरेर गरिएको सिफारिस हो’ उनले भने ।
 

 

 

‘कोभिशील्ड र अस्ट्रजेनिका खोपको बनावट एउटै हो । नाम मात्रै फरक हो, खोप एउटै हो । त्यस्तोमा अस्ट्राजेनिकाको ठाउँमा कोभिशील्ड, कोभिशील्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशील्ड वा अस्ट्रजेनिका लगाएको व्यक्तिमा भेरोसेल लगाउने कुरा सरकारले सिफारिस गरेको छैन । भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ ।त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु’ उनले भने ।

 

 

उनले विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भने अनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाबिरुद्धको खोप लगाउने सम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजको रुपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै