Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा, यी क्षेत्र हुनेछन् बन्द


उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् ।

 

आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे तीनै प्रशासनले परामर्श गरेका छन् । यद्यपि, आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकबाट मात्र यो निर्णय कार्यान्वयनको टुंगो लाग्ने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए ।  नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिन लागिएको हो । 

 

लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भिर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिन निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

 

उनका अनुसार उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । निजी र सार्वजनिक यातायात, शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको हो । 

 

तर, एम्बुलेन्स, शववाहन, दमकल, सञ्चारमाध्यम, कूटनीतिक नियोगजस्ता निकायको सवारीसाधन भने चल्न पाउने भएका छन् । यस्तै औषधि, खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरुको पसल तथा ढुवानी पनि बन्द हुनेछैन । यस्ता पसलहरु सञ्चालनका लागि समय तोकिने भएको छ ।

 

होटल तथा रेष्टुरेन्टहरुले होम डेलिभरी मात्र गर्न पाउने भएका छन् । सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने भएको छ । 

 

यस्तै, बैंक तथा वित्तीय संस्थामा आधा मात्र जनशक्ति राखेर सञ्चालन गर्न दिने निर्णय भएको छ भने अनावश्यक हिँडडुलमा कडाइ गरिने भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै