Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाल पक्ष तत्कालै जाला सरकारमा ? यस्तो छ तयारी

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा जाने नजानेबारे टुंगो लाग्न सकेको छैन ।

 

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन गरेको आग्रहलाई नेता नेपालले हालसम्म कुनै जवाफ दिइसकेका छैनन् । 

 

यता नेपाल पक्षमा नेताहरु भने सरकारमा सहभागी हुनेनहुनेबारे विभाजित छन् । त्यसैले यस विषयमा र एमालेको स्थायी कमिटीले स्पष्टीकरण सोध्नेबारे गरेको निर्णयमा छलफल गर्न उक्त समूहको बैठक बस्दै छ ।  

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने पार्टीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । तर, २४ घन्टा बित्दासम्म पनि उनले स्पष्टीकरण सोधिसकेका छैनन् । त्यसकारण ओलीले कारवाही नगर्दासम्म नेपाल समूह सरकारमा जाने नजाने टुंगो लागेको छैन ।

 

यसबीचमा सरकारका सञ्चालनका लागि पहिला न्यूनतम साझा कार्यक्रम निर्माण गर्नका लागि सत्ता साझेदार दलहरुबीच सहमति भथिएको छ । त्यसपछि दलहरुले मन्त्री सिफारिस गर्ने भएका छन् । 

 

सत्ता गठबन्धनमा आबद्ध दलले दुई दुई जनाको कार्यदल बनाएर न्यूनतम साझा कार्यक्रम बनाउने, आचारसंहिता निर्माण गर्ने र मन्त्रालयको भागवण्डा तयार पार्नेबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको हो ।

 

कार्यदलमा जसपाले नेता राजेन्द्र श्रेष्ठ र कांग्रेसले महामन्त्री पुर्णबहादुर खड्का तोकेको छ । त्यसबाहेक प्रमुख दलबाट दुईजना तोक्ने समझदारी भए पनि अझै अरु थपिएका छैनन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै