Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

गठबन्धनका दल आफैं कमजोर भएकाले मत पाएनन् : गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको बताएका छन् । 

 


शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पगेका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दल पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु कारण भएको बताएका हुन् । 

 


उनले कांग्रेसका मतदाताले रुखबाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताले गठबन्धनमा भोट हाल्न आह्वान गरे पनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले बताए । 

 


उनले गठबन्धनको अहिलेको मत परिणाम स्वाभाविक भएको उल्लेख गरे ।  गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा कांग्रेसको जित सहज भएको उनको विश्लेषण छ ।

 


महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवालाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताए ।

 

आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने उनको भनाइ छ । 

 


उनले प्राप्त मत परिणामबाट पार्टीसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको सन्देश आएको पनि बताए । 

 


उनले स्थानीय तह निर्वाचनको मत परिणामको सम्बन्धमा गठबन्धनका दलहरु बिचमा आ–आफ्नो पार्टीभित्र समीक्षा हुने पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै