Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

यस्तो छ काठमाडौंका चार नगरपालिकाका मेयरको योजना 

काठमाडौंका चार नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार संयुक्त रुपमा जिल्ला निर्वाचन कार्यालय बबरमहलमा सपथग्रहण गरेका छन् । दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार शपथग्रहण गरेका हुन् । 

 


दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित मेयर मोहन बस्नेतले जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्ने बताएका छन् । 

 

 

सपथ ग्रहण पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आफू जनताको सेवक भएर इमान्दारीपूर्वक काम गर्ने बताए । दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उनले बताए । 

 


कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले कीर्तिपुरको मौलिकतालाई संरक्षण गर्दै आर्थिक समृद्धि गर्नु आफ्नो प्रतिबद्धता रहेको बताए । उनले कीर्तिपुरलाई विश्वमाझ चिनाउने पनि बताए । 

 


चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले नगरबासीलाई डिजिटल प्रणालीमार्फत् घरमै बसेर सेवा लिने वातावरण बनाउने बताए । उनले उत्पादन, रोजगार र बजारीकरणमार्फत् नगरको आर्थिक विकास गर्न ध्यान दिने बताए ।

 

उनले भने – ‘उत्पादन, रोजगार र बजारीकरणमार्फत् नगरपालिकालाई आर्थिक विकास र मानव विकास तर्फ हामी ध्यान केन्द्रित गर्नेछौँ । नगरपालिकालाई प्रविधियुक्त सुशासनमार्फत्, डिजिटल प्रणालीमार्फत् सम्पूर्ण नगरबासिले घरमै बसेर सेवा लिने वातावरण पाँच वर्षभित्र गर्नेछौँ ।’

 


टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकाको प्रशासनिक काम छिटो, छरितो बनाउने बताए । उनले आफ्नो पाँच वर्षे कार्यकालमा देखिएको खानेपानीको समस्या समाधान गर्ने बताए । स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । 

 


उनले  नगरपालिकामा आफ्नो पार्टीको जनप्रतिनिधिको बहुमत भएकाले आफ्नो दृष्टिकोण असफल हुन नसक्ने र काम गर्न सहज हुने पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै