
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कुनै किसिमको प्रलोभनमा पार्नु सम्भव नभएको बताएका छन् ।
बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ ? भनी प्रश्न गरेका थिए ।
सोही प्रश्नको जवाफ दिने क्रममा उनले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिएका हुन् । ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए । यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो ।
उनले भने, ‘नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर चलाउँदै हिँडने पागल होइन म । तर अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिँदैन
। सात करोड होईन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन ।’
ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष गरे ।
केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर हटाएका थिए ।
सोही फोटोप्रति संकेत गर्दै ओलीले घिसिङको पनि आलोचना गरे । उनले भारतलाई ४ रुपैयाँ प्रतियुनिटमा बिजुली बेचेर आफूले ३८ रुपैयाँ प्रतियुनिटमा खरिद गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit