
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।
‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने ।
‘हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्’ उनले भने ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने पनि उनले बताएका छन् । तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताएका छन् ।
उनले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियन भन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको बताएका छन् । साथै उनले युक्रेनलाई आक्रमण गरे रूसीहरूका लागि यो महङ्गो पर्ने जिकिर गरेका छन् । युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ ।
राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit