
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेशनल पेमेन्ट स्वीचको थालनी गरेको छ । नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् ।
बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरुसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलले बताएको छ ।
सरकारको बजेट तथा मौद्रिक नीतीमा उल्लेख गरे अनुसार नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएको थियो । कम्पनीका अनुसार कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्ने, डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गर्नका लागि हाल सम्पूर्ण तयारी भइसकेको छ । अब यसलाई कार्यान्वयनमा लगिनेछ ।
नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु जारी हुनेछन् । वालेट–वालेटबीच अन्तरआबद्धता पनि हुने कम्पनीले जनाएको छ ।
त्यसै गरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेसनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको कम्पनीले जनाएको छ । नेपाल पेमेन्ट कार्ड आइसकेपछि यसमा आबद्ध जुनसुकै बैंकका एटिएमबाट सहजै पैसा झिक्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।
एनसीएचएलले नेसनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालासँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाइने दाबी गरेको छ ।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी विकास हुने बताएका छन् । उनले अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम हुने पनि बताएका छन् ।
‘यो पहिलो चरणबाट नेपालभित्र हुने डिजिटल कारोबारको भुक्तानी गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउने काम पुरा गर्दछ, नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसअन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम गर्ने छ, पहिलो चरणमा कार्ड बाहेकका रिटेल, दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइने छ’ उनले भने ।
कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको थालनी गर्नु धेरै राम्रो काम भएको बताएका छन् । उनले नेपालले आफ्नै भुक्तानी पेमेन्ट स्वीच सेवा थाल्नु अत्यन्तै राम्रो विषय भएको बताएका छन् ।
‘यो प्रणालीमा सबै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भए मात्रै सफल हुन्छ, हामी यो प्रणालीको विस्तारको लागि पूर्ण सहयोग गर्ने तयार रहेका छौं’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit