Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पतञ्जलिको कार्यक्रममा प्रधानमन्त्री, भने– ‘योगको महत्त्व संसारमा छ’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्त्व संसारभर रहेको बताएका छन् ।


आज रामदेव पतञ्जलि योगपीठ नेपालले आयेजना गरेको पतञ्जलि नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै उनले योगको महत्त्व संसारभर रहेको बताएका छन् । उनले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधी आयुर्वेद भएको बताएका छन् । 

 

उनले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरुको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आएको बताएका छन् । उनले सरकारले नेपालमा आयुर्वेदिक औषधी बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने बताएका छन् ।

 

‘आज संसारमा योग स्वास्थ्यका लागि सबैभन्दा उत्तम र स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्, आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके, साइड इफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधी छ, साइड इफेक्ट नभएको औषधी केही छ भने त्यो आयुर्वेद मात्रै छ, नेपालमै आयुर्वेदिक औषधीहरु बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ’ उनले भने ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान भएको बताएका छन् । योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै उनले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागेपनि क्रान्तिकारी र वैज्ञानिक भएको बताएका छन् । 

 

उनले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको पनि बताएका छन् ।

 

‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौँ, छलफल गर्न थाल्यौँ, कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रुढीवादी, परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो, उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो’ उनले भने ।

 

‘योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यताबाट महा उद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो । त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान हुनुभयो । नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको क्षेत्रमा कसरी क्रान्ति गर्ने कसरी अघि बढ्ने भनेर कार्यक्रम आयोजना गरिने बताउनु भयो’ उनले भने ।

 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्त्व भएको बताएका छन् । उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने पनि बताउँदै पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको पछि योगाभ्यासले नै सहज बनाएको पनि भनेका छन् ।

 

‘योग र साधनाको बेग्लै महत्व छ । योगको अभ्यास हामी सबैले गर्नुपर्छ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ, ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ यसले मनमा शान्ति ल्याउँछ’ उनले भने । 

 

उनले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई बिस्तार र प्रयोग गर्नुपर्ने बताएका छन् । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जलि योगपीठ नेपालले जनाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै