Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन कानुन व्यवसायीको माग 

 वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

 

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा आज गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरुसँग गरेको सहमति पनि पालना नगर्नेतर्फ न्यायाधीशहरुलाई सचेत गराएका छन् । 

 

‘यो प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत्मा छ । यो प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालित छ । यो प्रधानन्यायाधीशले यहाँ जे सहमती गर्छ, म अन्य मान्य न्यायाधीशहरुलाई पनि अनुरोध गर्न चाहान्छु, यो प्रधानन्यायाधीशले तपाईहरुसँग गरेका कुनैपनि सहमती त्यो भुमिगत गिरोह, विचौलियाको नाइके, प्रतिकार समुहकोमा पुग्नुभन्दा अगाडीसम्म मात्रै कायम रहन्छ । त्यहाँ पुगेपछि उसका तमाम सहमतीहरु पालना हुँदैनन् । यो प्रधानन्यायाधीश आफ्नो विवेकले चल्दैन । यो प्रधानन्यायाधीश बिचौलियाको माफियाहरुबाट सञ्चालित छ । यस्तो प्रधानन्यायाधीशलाई हामी प्रधानन्यायाधीश मान्न सक्दैनौँ’ उनले भने ।

 

‘आजै, अहिल्यै, तत्क्षण यो प्रधानन्यायाधीशले राजीनामा दिनुपर्दछ । म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु र सम्पूर्ण सांसदहरुलाई म आह्वान गर्न चाहान्छु, तपाईहरु कसको बलमा माननीय हुनुभएको छ अहिले ? कानुन व्यवसायीले रातदिन खटेर, मुद्दा लेखेर, रातदिन बहस गरेर, अदालतमा झगडा गरेर, आफ्नो मेहनत गरेर, बिना पैसा बहस गरेको कारणले प्रतिनिधि सभा पुर्नस्थापना भएको छ । त्यसको आडमा तपाईहरु सांसद हुनुभएको छ । त्यसको आधारमा तपाईहरु नेता हुनुभएको छ, त्यसको आधारमा तपाई गृहमन्त्री हुनुभएको छ । खबरदार भोलि यस्तै हुने हो  र कानुन व्यवसायीमाथि प्रहरी दमन हुने हो भने हामीले त्यस्तो दिन भन्नु नपरोस् । सम्पूर्ण नेता र राजनीतिक दलका नेताहरुलाई भन्न चाहान्छु । महाअभियोग लगाउनुस् र निष्काशन गर्नुस्’ उनले भने ।

 

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरुलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरेका छन् । उनले प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाउँदै नेताहरुको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरु बोल्न नसकेका उनले बताएका छन् । 

 

‘यो विषयवस्तु छुनुपर्ने भनेको नेपालका दलहरुमा, जो सरकारमा छन् । जो प्रतिपक्षमा छन् । ति दलहरुलाई यसले किन छोएको छैन । के यी दलहरुको लागि यो न्याय प्रणाली होइन ? न्यायपालिका होइन ? अवश्य हो । किनभने प्रत्येक दलहरुको चोलेन्द्र शमशेरसँग लेनदेन छ । सबले हिसाबकिताब गरेका छन् । सबै दलका नेताहरुको कुनै न कुनै ढंगका यहाँ मुद्दा, मामिला छन् । ति मुद्दा, मामिला बार्गेनिङ ढंगले यहाँ अड्किइरहेको छ । त्यसैले यि दलहरु बोलिरहेका छैनन् । अहिलेका दलहरुले सोचिराखे हुन्छ । सर्वोच्च अदालतमा, नेपाल बारको प्रांगणमा सुरु भएको यो आन्दोलन एउटा झिल्का हो । यदी दलहरुले यो कुरालाई ध्यान दिएनन् भने सम्पूर्ण सत्ता नै गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ । यो होस् गर्नु ।  यो आन्दोलनको एउटा झिल्का हो’ उनले भने ।

 

बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताएका छन् । प्रधानन्यायाधीले जनताको लागि इजलाश चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको जिकिर गर्दै शक्तिशाली नेताहरुको मुद्दा सर्वोच्चमा रहेको र ती मुद्दालाई देखाएर नेताहरुलाई तर्साइएको कारण नेताहरु प्रधानन्यायाधीशको विरुद्धमा बोल्न नसकेको बताएका छन् । 

 

‘हामिले जुन आन्दोलन गरिराखेका छौँ । त्यो आन्दोलन दबाउन गृहमन्त्री, प्रधानमन्त्री, सबैलाई ति दलालहरु जसको सेवामा प्रधानन्यायाधीशले आफ्नो पदको दुरुपयोग गरिरहनुभएको थियो उनीहरुको लागि उहाँ बसिरहनुभएको छ । तपाई हाम्रो लागि होइन, यो प्रष्ट भयो । कुनै भ्रममा नपर्नुस् । तपाई हाम्रो लागि उहाँ तयार हुनुहुन्न, इजलाश चलाउन सक्नुहुन्न । तर प्रधानन्यायाधीशको कुर्सी समातेर बस्न बाध्य हुनुपर्छ उहाँले’ उनले भने ।

 

‘तपाईँ हामीले चाह्यो भने भेट सम्भव छैन । अन्यायमा परेको व्यक्तिले प्रधानन्यायाधीश भेटौँ भनेर खोज्यो भने उहाँको प्रशासनले पनि सायद भेट्न सक्दैन । तर दलालहरु, माफियाहरु, र तस्करहरु जुन वर्गको उहाँले सेवा गरिरहनुभएको छ या उहाँ सेवा गर्न बाध्य हुनुहुन्छ, सायद उहाँलाई त्यहाँ पु¥याउने तत्व त्यही नै हो । यो चिन्नु जरुरी छ । यो त जनआन्दोलन भन्दापनि, जनयुद्ध भन्दापनि धनसँगको युद्ध बडा खतरा रहेछ । यो यति पावरफुल रहेछ, उसले चाहादा पुलिसलाई लठ्ठी हान्नु भन्दा हान्दो रहेछ । एसएलआर लिएर सर्वोच्च अदालतमा छिर भन्दा तुरुन्तै छिर्दो रहेछ । हर लेभलमा उसको पहुँच छ हेर्नुस् । त्यसैले यो सरकार र जतिपनि संस्थाहरु हामीले बनाएका छौँ । त्यो सामान्य नागरिकको लागि राखिएको हो । तर यहाँ होइन रहेछ, उनीहरुको कब्जामा रहेछ । यो प्रष्ट रुपमा देखियो’ उनले भने । 

 

‘नेताहरुको कान बहिरा छैनन् धेरै कुरा सुन्छन् । तर आँखा चाहीँ अन्धो छ । ति दलालहरु बाहेक नेताहरुकैमा भेट्न जानुप¥यो भनेपनि दलालहरुको लागि चौबिसै घण्टा तयार । तर तपाई हाम्रा कुरा सुन्नलाई कतिदिन धाएर पनि सम्भव छैन । हामीले बनाएर हर सरकारी संयन्त्रहरुमा उनीहरुको कब्जा छ । नेताहरु किन बोलिराख्या रैनछन् मैले थाहा पाएँ । धेरै शक्तिशाली भन्ने नेताहरुको यहाँ मुद्दा रहेछ, त्यो मुद्दामा उहाँले आतंक पठाइराखेको रहेछ नेतालाई । भन्नुस् त हाम्रो कस्तो न्यायालय रहेछ । नेताको मुद्दा पर्दाखेरी एउटा प्रधानन्यायाधीशले नेतालाई थर्काउन सक्ने । बाँकी अन्यायमा परेका नागरिक माथि कस्तो आतंक होला ?’ उनले भने ।

 

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै