Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय 

सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । 

 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिएका छन् । 

 

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव  स्वीकृत गरेको छ । 

 

त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको उनले बताएका छन् । 

 

बैठकले एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

 

मन्त्रीपरिषद बैठकले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिंचाइ सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ । 

 

एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा. श्यामसुन्दर यादव, भिमसिंह  तिङ्करी  र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको प्रवक्ता उनले बताएका छन् ।

 

मन्त्रीपरिषद बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ । संक्रमण पशुरोग  नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि मन्त्रीपरिषद बैठकले दिएको उनले बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै