Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रधानमन्त्रीलाई बैठकमा नआउनुको कारण सोध्ने संसदीय समितिको निर्णय

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । 

 


आइतबार बसेको समितिको बैठकले देउवालाई बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो । 

 


समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । 

 


प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरुले बैठकमा विभिन्न टिप्पणी गरेका थिए । बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

 

 

उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुने कुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताइन् । 

 


अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

 

 

सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीको व्यस्थताका कारण आउन नसकेको धारणा व्यक्त गरेका थिए । लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारुढ दलका सांसदले असहमति जनाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै