
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन् ।
आज स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लुको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाबिरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेका छन् । खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाबिरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताएका छन् ।
उनले फाइजरको खोप ल्याउन भूक्तानिका लगि सरकारबाट निर्णय भइसकेको पनि बताएका छन् । उनले अबको एक महिना भित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने पनि बताएका छन् । उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताउँदै सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
‘आउँदो दिनमा पनि कोभिड बिरुद्धको लडाइँ, अमेरिका र नेपाल एकसाथ रहेर अघि बढ्नेछौँ र मित्रता र सहयोग निरन्तरता भइरहनेछ, अब हामीले थप फाइजर खोप ६० लाख सम्झौता गरिसक्यौँ, भूक्तानि गर्न क्याबिनेटबाट निर्णय गरिसकेका छौँ, उहाँहरुको भनाइअनुसार हामी एक महिना भित्रमा पहिलो लट आउँछ र त्यसपछि क्रमशः हुन्छ’ उनले भने ।
‘एक लाख खोप हामीले सातै प्रदेशमा पठाएका छौँ, १० र १५ लाखले आउँछ त्यो, प्रदेश, प्रदेशबाट जिल्लामा जान्छ, जिल्लाबाट वडा, एक महिनापछि नेपालको हरेक भागमा खोप शुरुवात गरिसकेका हुन्छौँ, खोपको कतै अभाव छैन, २४ सै घण्टा, टिचिङ, सेना, पुलिसका गरी ५ अस्पताल २४ सै घण्टा खुला गरेका छौँ, अब कहाँ, कति बेला, कति गते खोप लगाउने भनेर कुर्नुपर्ने अवस्था छैन, कर्मचारीले जोखिम भत्ता पाउनेछन्, हामीले भनेको कुरा पूरा गर्छौं, प्राविधिक केही कारणवश हुन सकेको छैन’ उनले भने ।
डोनाल्ड लुले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताएका छन् । उनले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै बास्तविक हिरो भएको बताउँदै फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरेका छन् ।
‘अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन नेपालीहरुलाई सहयोग गर्न पाएकोमा हामीलाई खुशी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरुले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरु रियल हिरो हो, बालबालिकाहरुका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु’ उनले भने ।
उनले नेपाललाई आगामी दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाबिरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौँ आएको थियो । सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट लगाउन सुरु गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit