
अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।
काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् ।
उनले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएको बताएका छन् । उनले भारतबाट आयात गर्ने मात्र नभई नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने पनि बताएका छन् ।
‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौँ, उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ, फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ’ उनले भने ।
उनले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको पनि बताएका छन् ।
‘अहिले मुलुक आयातमा परनिर्भर हुँदै आएको छ, अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ । यदि अब नेपालले आफ्नो उत्पादनलाई वृद्धि गर्न सकेन भने कृषि बिना हाम्रो देश र राष्ट्रियता आत्मा निर्भरता सम्पन्नको सपना पूरा गर्न सक्दैनौँ, कृषि पर्यटन र जलविद्युत हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन्, अब हामीले साझा प्रतिबद्धता गरेर जानु पर्ने आवश्यक छ, यो क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो, त्यसैले यसमा लगानी बढाउनु पर्छ’ उनले भने ।
कृषि ग्रुपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो । यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि उनले बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit