
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । प्रदेश सरकारका प्रवक्ता कुमार खड्काका अनुसार आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
यसअघि प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए । यस उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप पोखरेलले आज विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।
गण्डकीमा विश्वासको मतका लागि ३० सांसद आवश्यक पर्छन् । अहिले कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री नियुक्त हुँदा पनि उनले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए ।
आज उनले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभा विघटन गरी ६ महीनाभित्र मध्यावधि चुनावका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्नसक्ने व्यवस्था रहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit