
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।
भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ ज्ञापन गरेकी छन् ।
चिनियाँ राष्ट्रपति सि चिनपिङले आफ्ना जनप्रतिनिधि जनताले आफै छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको राजदूत यान्छीले बताएकी थिइन् ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको उनले बताइन् ।
केही समय अघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेलामा सुरक्षा प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत यान्छीले धन्यवाद समेत दिइन् ।
भेटमा गृहमन्त्री खाणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको राजदूत यान्छीलाई बताएका थिए ।
उनले चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे ।
भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौँबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गृहमन्त्री खाणलाई गराएकी थिइन् ।
राजदूत यान्छीले आफ्नो विकासको मोडेल आफै तय गर्ने बताउँदै त्यसमा चीनको सदभाव रहेको बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit