
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणामले आफ्नो पार्टीको एजेण्डा जनताले रुचाएको पुष्टि भएको बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।
उनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेद मिलाउन नसकिएकाले अपेक्षा भने पूरा हुन नसकेको बताए ।
नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए ।
उनले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए ।
त्यस्तै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएकी छिन् । उनले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको बताएकी हुन् ।
उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताइन् । सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताइन् ।
पार्टी भित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ । महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उनले बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit