Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

स्वास्थ्य मन्त्रालय तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैन : स्वास्थ्य सचिव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । 

 

 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताएका छन् । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताएका छन् ।

 

 

‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ’ उनले भने ।

 

 

१८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको उनको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको उनले जानकारी दिएका छन् अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्नेमा उनको जोड छ । 

 

 

‘खोप केन्द्रमा रहेका कर्मचारीले खोप लगाउने, दर्ता गर्नेलगायतका काममा लाग्ने भएकाले प्रशासन र स्थानीय तहले भीड व्यवस्थापनमा लाग्नुपर्छ’ उनले भने ।

 

 

त्यस्तै, उनले यही माघ, फागुन र चैत्र महिनाका लागि भएपनि कोभिड रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको पुनः व्यवस्था मिलाई दिन संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलाई आग्रह गरेका हुन् । 

 

 

उनले संसदीय समितिको बैठकमा बोल्दै स्वास्थ्यकर्मीहरुले सो भत्ता चालू आर्थिक वर्षयता नपाएको उल्लेख गर्दै त्यसबारे आफूहरुले अर्थ मन्त्रालयसँग कुरा गर्दा विवाद हुने गरेकाले समितिलाई नै सो व्यवस्था गरिदिन आग्रह गर्नु परेको स्पष्ट पारेका छन् । उनले आफू स्वास्थ्य सचिव नै भएको नाताले पनि समितिमा सो विषयमा ध्यानाकर्षण गराउनु परेको बताएका छन् । 

 

 

‘असार यता हामीले पुससम्म दिन सकेका छैनौं । त्यही भएर माननीय सभापतिज्यू, मेरो एउटा स्वास्थ्य सचिवको हैसियतले ती स्वास्थ्यकर्मीहरुलाई पुनः ३ महिनाको ५० प्रतिशत भत्ताको चाँही माघ, फागुन, चैत्रको फेरी पनि भन्दिने होकि भन्ने कुरा । यो चाँही अर्थसँग बजेट छैन । स्वास्थ्य मन्त्रालय माग्न गयो भने सधैं विवाद भईरहने हुँदाखेरी माननीयज्यूहरुबाटै यो कुरा अर्थ मन्त्रालयमा गएको खण्डमा स्वास्थ्यकर्मीहरुले ती भत्ता पाउँथेकि भन्ने कुरा स्वास्थ्यकै सचिव भएको नाताले मैले राख्न चाहे । त्यो भयो भने उहाँहरुको काम गर्ने मनोबल बढने थियो’ उनले भने ।

 

 

उनले कोभिड संक्रमण बढेको र त्यसको नियन्त्रण र उपचारका लागि पनि स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनुपर्ने अवस्था रहेको समितिलाई जानकारी गराएका छन् । उनले २० देखि २५ लाख खोप नभेटिएको पनि बताएका छन् । खोप लगाएको तर रेकर्ड राख्न कमजोरी भएका कारण त्यो रेकर्ड नभेटिएको सचिव पोखरेलको दावी थियो । उनले खोपलाई वेष्टेज हुन नदिएको र ठूला सहरी क्षेत्रहरुमा ७५ देखि ८० प्रतिशत खोपको व्यवस्था गरिएको बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै