
भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब ४.४१७ करोड रुपैयाँको लागतमा हुनेछ ।
सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०% छात्रा रहेका छन् ।
सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।
यी परियोजनाहरु मध्ये रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी प्रदेश ५ मा ६० वटा परियोजना रहेकोमा सोही जिल्लाका दुई गरी ९ वटा परियोजना निर्माणका विभिन्न चरणमा रहेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit