
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् ।
आज नेपाल बार एसोसिएसनले गरेको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् । उनले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताएका छन् ।
‘आज प्रधानन्यायाधीशको सिट खालि छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाई र मैले खालि गरिसक्यौ , कसरी खालि ग¥यौँ, खालि भइसक्यो । खालि अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ’ उनले भने ।
उनले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताएका छन् । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उनले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने पनि बताएका छन् ।
प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दुषित भएको टिप्पणी गर्दै प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह पनि गरेका छन् ।
‘नेपाल बारले प्रधानन्यायाधीश भ्रष्टाचारमा डुबेका छन्, डुबेको मात्रै होइन बान्ता भयो । त्यो बान्ता भएको कुरा यहाँ बोलिराख्या छौँ हामीले । यो लुकेको कुरा भएन । यो कुरा हामीले अगाडी राखी रहँदाखेरी तपाईंहरु चार जना वा पाँचजना हुनुहुन्छ एउटै प्रश्न सोधिदिनुस्, प्रधानन्यायाधीसज्यू तपाईले घुस खानु भएको छ कि छैन ? यत्ति सोधिदिनुस् । आज फुलकोर्ट बस्ने कुरा छ, तपाईलाई त भ्रष्टाचार गर्नुभयो, घुस खानु भो भन्या छ सोधिदिनुस् न एकचोटी । उहाँले खानु भो भन्नुहुन्छ कि खानुभएन भन्नुहुन्छ । खानुभएन भन्नुभए बोलाउनुस् । पहिलो जो इजलाशमा बस्छु भन्नुहुन्छ उहाँले तोकेर यदी घुस खाएको प्रधानन्यायाधीशको इजलाशमा बस्नुहुन्छ भने तपाई दुषित हो । फेरी सेटिङको कुरा आउँछ, हतार नगर्नुहोला’ उनले भने ।
उनले आफुहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पार्दै प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताएका छन् ।
‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित’ उनले भने ।
उनले नेपाल बार एसोसिएसनलाई नसोधिकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनैपनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरुलाई खबरदारी गर्दै यदि बारको सहमतिबिना नियुक्ति गरेमा न्याय परिषद्बाट फिर्ता बोलाउने अधिकार पनि बार सँग रहेको बताएका छन् ।
‘खबरदार बारलाई नसोधिकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला । तपाईलाई जसरी भोट मागेर पठाइएको छ त्यसरी नै बोलाउने अधिकार छ । तपाईले नेपाल बार सँग छलफल नगरीकन, हिजो विज्ञप्ती निकालेको छ कुनै नियुक्ति नहोस् भनेर, सिनियर न्यायाधीश दिपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ’ उनले भने ।
उनले राजनीतिक दलहरुले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्ने बताउँदै न्यायालयको समस्या समाधान गर्ने कि पैसामा न्याय किनिने पक्षमा राजनीतिक दलहरु हो भनी उनले प्रश्न पनि गरेका छन् ।
‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने यसपालि न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकरणको पक्षमा हो, सामाजिकीकरण भनेको यहाँका सबै समस्याहरुको समाधान गर्नको लागि हो कि तपाईहरु पैसाबाट न्याय किनिन्छ भन्नका लागि हो’ उनले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit