Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भारतीय लगानीमा निर्माणाधीन योजनालाई तीव्रता दिन संयुक्त संयन्त्रबीच सहमति

काठमाडौंमा सोमबार नेपाल र भारतको संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक बसेको छ । बैठकमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार, परराष्ट्र सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा सम्पन्न भएको थियो । 

 

भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्न सन् २०१६ मा स्थापना गरिएको सो समितिको बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति थियो । 

 

बैठकले २०७७ भदौ १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको थियो । दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएका थिए । 

 

कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुबारे दुवै सह–अध्यक्षले बैठकमा जानकारी गराएका थिए । 

 

यसले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको शक्ति र प्रतिबद्घता र दुवै पक्षले एक अर्कालाई सहयोग र सहजीकरण गर्न देखाएको तदारुकतालाई स्पष्ट रुपमा झल्काएको छ । 

 

बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे चर्चा गरिएको थियो । 

 

परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पु¥याउन दुवै पक्षले नियमित समन्वयमार्फत संयन्त्रका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए । यसको अलावा भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यकोे दुवै पक्षले सराहना गरेका थिए । 

 

दुवै सह–अध्यक्षले संयन्त्रको अर्को बैठक दुवै पक्षलाई सहज हुने मितिमा आयोजना गर्न सहमत भएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै