
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवाद समेत दिएकी छन् । उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
‘देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ । यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ’ उनले भनिन् ।
संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरुले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी छन् ।
संसद् सचिवालले ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो राष्ट्रपतिले औँल्याएकी छन् । देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसदमा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै उनले अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राखेकी छन् ।
आफूले लामो समयसम्म संसदमा रहेर धेरै अनुभव हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संसदमा सांसदले बोलेका कुराहरुको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरुका बारेमा जानकारी राख्न सक्ने र यसले संसद्प्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गरेकी छन् ।
समारोहमा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक हस्तान्तरण गरेका छन् । त्यस्तै उनले लुम्बिनीका किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु उपहार प्रदान पनि गरेका छन् ।
सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको कूल १७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गर्नुभएका १० व्यक्तित्वका लेखहरु समावेश छन् । पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्ट्रेलिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit