
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् । उनले राष्ट्रहित विपरीतका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे ।
नेता सिंहले हरेक सरकारले चाल्ने गतिविधिहरु पारदर्शी हुन आवश्यक रहेको पनि बताए । उनले स्टेट पाटनरसिप प्रोग्राम मार्फत विपद्का बेलामा सरकारले नागरिकका लागि सहयोग मागेको बताए ।
‘राष्ट्रलाई अहित हुने काममा कांग्रेस सहभागी हुने कुरा काँग्रेस सरकारले गर्छ भनेर सोच्ने कुरा ठीक होइन । त्यसबेला को प्रधानमन्त्री, को परराष्ट्रमन्त्री थियो भन्ने रेकर्ड राख्ने राम्रै होला, त्यसमा के लुकेको छ ? ट्रान्सपरेन्ट तवरले हरेक कुरा टुंगो लाग्नुपर्छ । लुकिछिपी गर्ने, यो डकुमेण्टमा हाम्रो सहभागिता छैन भनेर लुकाउने कुरा आउँदैन । स्टेटलाई अघि बढाउँदा कुनै कुरा, डकुमेण्टमा पनि अपारदर्शी, शंकाको दृष्टिले हेर्ने गरिकन कुनै ठाउँ राख्नुहुँदैन,’ सिंहले भने ।
नेता सिंहले सरकारले कुनैपनि हालतमा एसपीपी सम्झौता स्वीकार्य नहुने भनिसकेको भन्दै यसलाई शंकाको दृष्टिले हेर्न उचित नहुने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit